१.
म भुईंचालोको मारमा परेको
त्यस्तो घाइते
जसको भाँचिएको मेरुदण्डसँग
जोडिएका छन्
लाखौंलाख छनाहरूका करङ ।
२.
उहिले उहिले सिँगै छँदा
म आफैँ चढ्थेँ आफ्नो काँध;
उभिन्थेँ टुप्पोमा
तर पनि
देख्दैनथेँ त्यतिविधिका सरकार !
अहिले टुक्रिएर
धुलोमा मिसिँदा पनि
उस्तै उस्तै त छ मेरो हाल;
हावामा उड्दै उड्दै हेर्न पुग्छु
उही मक्किएको सिंहदरवार
लाउँछु अनुमान
सायद यहीँ कतै त बस्ला;
मेरो देशको जाज्वल्यमान सरकार ।
३.
यी मनुवा
र यिनको सरकारमा
कतिसम्म बाँचेको होला नैतिकता ?
कुनैदिन
फेरि उभिन पाएँ भने अवस्य भनुँला ।
४.
रिसानी माफ !
(हुन त मरिसकेकोले
यस्तो घुर्की लाउन नमिल्ला कि ?!)
तर छ नि !
यसरी बेवास्तामा परिरहेँ भने
म कुनै दिन
आफैँ उठ्छु
र बस्छु
आमरण अनशन !
५.
भुईंचालोको वार्षिकीमा
मेरै ठूटो मुनी भएको उद्घोष सुनेँ-
म त तिनको स्वाभिमान पो हो रे;
त्यसैले अब त
अवस्य उभ्याइन्छु रे म !
तर सम्झेँ-
पृथ्वीको बढ्दैगएको तापक्रम
र भविष्यमा उभिँदाउभिँदै आइलाग्ने
मेरो खरो तिर्खा
मनमनै सोचेँ-
के तिनीहरूसँग छ होला
सुन्धारामा कलकल पानी बगाउने
कुनै अद्भूत, जादूमयी योजना ?
१२ वैशाख, २०१७५