हिउँको गीत
- Aavaas
- Jan 8, 2018
- 1 min read
Updated: Jan 13, 2018
यो गीतको सन्दर्भ आउँदा अहिले पनि विगतका न्याना दिन र हिउँदमा वर्षने कपास जस्ता चिसा फुसफुसे हिउँ सम्झन्छु ।
यो गीतले सांगीतिक जीवनका प्रारम्भिक दिनको सम्झना गराउँछ । विगतका ती दिनमा संगीत र गीतसित सम्बन्धित धेरै मित्र र अगुवाहरूसँग नियमित भेटघाट हुन्थ्यो । संगत हुन्थ्यो । त्यही मित्रहरूको लस्करमा थियो एउटा निकै बाक्लो चस्मा लगाउने मित्र । उसका हातका औंला निकै पातला र सलक्क परेका थिए । उसका औंला हेर्दा लाग्थ्यो- ती औंला हाड र छालाबाट होइन गहुँको छ्वालीबाट बनेका हुन् । तर ती औंलाहरू छ्वाली जस्ता चम्किला मात्र थिए; अररा थिएनन् । गिटारका तारलाई सुम्सुम्याउँदा देखिन्थ्यो ती औंलाको अद्भूत शक्ति । साच्चै प्रमोद हमालका औंलामा अद्भूत सांगीतिक गुण लुकेको थियो । उ जसरी गिटार बजाउथ्यो त्यसरी नै स्टाफ नोटेसन पनि पढ्थ्यो ।
यो उही प्रमोद हमालले कम्पोज गरेको धुन हो । प्रमोदले संसार छोटडेको दशक पार गरिसक्यो । यो धुन भने हामीसित जीवित रहेर संवाद गरिरहेछ । कथाकार सुन्दर जोशी; जो अहिले अमेरिकातिर बस्नुहुन्छ । थोरै गीत छन् सुन्दर जोशीका तर विछट्टै भिन्दै पाराका । त्यही भिन्दै पाराको गीतलाई प्रमोदले धुन भरि राखेकोले हामीले गुनगुनाउन पाएका छौं । यो गीतलाई अरु पनि धेरै गायकहरूले एकल र सामुहिक रुपमा गाएका छन् । मैले भने पलेँटीमा अनेक खेप प्रस्तुत गर्ने मौका पाएको छु । यो छायांकन कुनै पलेँटीका बखतको प्रत्यक्ष रेकर्डिङ हो । यो गीतको सन्दर्भ आउँदा अहिले पनि विगतका न्याना दिन र हिउँदमा वर्षने कपास जस्ता चिसा फुसफुसे हिउँ सम्झन्छु ।
Comments