Aavaas

Apr 14, 20181 min

नयाँ वर्ष

वैशाखै पिच्छे पलाउछन्
 
सपनाका हाँगा हाँगामा
 
अनगिन्ती नयाँ पालुवा

निरन्तर गाउछन्
 
तिनका सामु
 
कोइली, मैना, कोकले
 
र अनेकौं चराले
 
आदिम,
 
अमूर्त,
 
उनै पुराना पुराना गीत

पालुवाको संसारमा
 
एक निमेष पनि छाउन पाउदैन मौनता


 
अनवरत
 
केही न केही
 
सुसेली राख्छ बतास

कतै भेटिहाले भने
 
चिल्ला पालुवाले
 
छिनभरको शून्यसमय

बेर छैन
 
नव निर्वाचित सांसदले झैँ
 
उठाउन एकसाथ
 
आफ्ना सफा, हरिया हात
 
र सोध्न
 
मान्छेका बस्तीतिर फर्केर
 
एउटा प्रश्न-

मान्छे हो ! खासमा यो 'नयाँ वर्ष' भनेको
 
कुन चराको नाम हो ?

    60
    0