Aavaas

Jan 28, 20181 min

सपनाको बिउ

उतिखेर
 
तिमीले गरेथ्यौ
 
मीठा मीठा बास्ना
 
र मुलायम फलका कुरा

कुरै कुरामा-
 
गमलामा रोप्नू ! भनेर
 
दिएथ्यौ केही दाना बिउ

र साथै भनेथ्यौं-
 
'एकदिन यिनै बिउबाट उम्रनेछन्
 
स्वप्निल वृक्ष
 
र यथार्थमै फल्नेछन्
 
तिनका हाँगामा
 
सपनाका सुन्दर फल'

विश्वासका साथ
 
उतिखेरै
 
मैले रोपेथेँ
 
गेरुवा रङका आफ्नै गमलामा
 
तिमीले दिएका
 
तिनै चिल्ला र मिहिन बिउका दाना

आज
 
झुक्किएर उक्लिन पुगेछु
 
उही गमला सजाएको बार्दली

तिमीलाई थाहा छ ?
 
अहिले म एकनास टोलाएर हेरिरहेछु
 
गमलामा हुर्कँदैगरेको अकल्पनीय दृश्य

देखिरहेछु-
 
सुस्त बतासमा
 
बयली खेलिरहेछन्
 
मारिजुआनाका लहलहाउँदा केही हरिया बोट !

Pix: www.saludconsultas.com

    130
    0