Aavaas

Jan 16, 20183 min

लेकका हामी केटाकेटी

आफूले कुँदेको गीत कसैको मस्तिष्कमा लोकगीतको कोटीमा परेकोले खुसी पो छु । सृजना भएको झण्डै साढे तीन दशकपछि पनि यो गीत धेरैको रोजाइमा परिरहेकै छ ।

झण्डै तीन दशक पहिलेको कुनै एक साँझको आरम्भ हुँदो हो । हामी संगीतको सामुहिक अभ्यासमा थियौं । ताम्सीपाखामा रहेको स्वर्णिम स्कूलको पुस्तकालयमा । रामेश-मञ्जुलहरूले हाँकेको सांगीतिक अभियानको पछिल्लो चरण थियो त्यो जसमा हामी जस्ता नयाँपुस्ताका भाइहरू र उहाँहरूले सामुहिक यात्रा थालेका थियौं । 'आस्था' नामाकरण गरिएको थियो त्यो अभियानको । सार्थक र जीवनपरक गीत संगीतको वकालत गर्थ्यौं हामी त्यसबेला । गीत बनाउँदा व्यक्तिलाई होइन, समाजलाई केन्द्रमा राख्ने सोच थियो त्यसबेला । प्रेम प्रणयका गीत गाउनु पर्छ कि पर्दैन ? तर्क वितर्क खूबै चर्कन्थ्यो । पुरानो पुस्ताले प्रेम प्रणयलाई बुर्जुवा विषय भएको धारणा राख्थ्यो । नयाँ पुस्ता प्रेम पनि जीवनको महत्वपूर्ण विषय हो भन्ने तर्क अघि सार्थ्यो । त्यही ताका एकदिन उसबखतमा कथा विधामा आफ्नो दह्रो उपस्थिति जनाइसकेका कथाकार सुन्दर जोशी पनि हाम्रो सांगीतिक अभ्यास भइरहेको बखत उपस्थित हुनु भयो । यदाकदा गीत पनि लेख्नुहुन्थ्यो सुन्दर जोशी । बालगीतको चर्चा भइरहेको थियो । सुन्दर जोशीले हामीतिर फर्केर अनुरोध गर्नुभयो- 'लेकाली वातावरणका बालबालिकाका निम्ति गीत बनाउनुहोस् न एउटा !' 'ल लेख्नुस् न त हामी धुन भरौंला !' सायद रामेश दाइले हार्मोनियमका पर्दामा औंला चलाउँदै भन्नुभयो । त्यसताका भरखर मेरो कविता सँग्रह 'भूगोलमाथि उभिएको जैतुन' प्रकाशित भएको समय थियो । सुन्दर दाइले रामेश दाइको प्रस्तावलाई मतिर फर्काइदिनु भयो- 'आभास भाइले राम्रो लेख्न सक्नु हुन्छ बालगीत । म त कहिले काँही मुड चल्दा लेख्ने हुँ । कसो भाइ ?' उसबेला म अहिलेभन्दा पनि निकै कम बोल्थेँ । तर त्यस दिन कुन्नि किन हो भनि पठाएँ- 'विषयवस्तु अलिक् स्पष्ट पार्नुस् त दाइ ! म लेख्ने प्रयास गर्छु !' सुन्दर दाइले एकै सासमा भन्नुभयो- 'लेक, कुहिरो, टाढाको स्कूल, पढ्न जाने मन, गोठालो जानु पर्ने अवस्था' त्यस्तै त हो विषयवस्तु ।' किशोर अवस्थाबाट उम्कँदै गरेको मनस्थिति निकै उर्वर र भावुक हुन्छ । त्यसबेला विषय भेट्नासाथ लेख्न सक्ने क्षमता थियो । मैले केही मिनेट भित्रै २ हरफ स्थाई लेखेँ-

लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ

चौंरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ

यदि तपाईहरूलाई चित्त बुझ्यो भने म भोलिसम्ममा यसलाई पूरा गरेर ल्याउँछु । त्यसबेला सबैमा सकारात्मक भावले बास गरेको थियो सायद; सबैबाट 'एकदम राम्रो छ पूरा गर्नुस् !' भन्ने आवाज गुञ्जियो । लेखिएका दुई हरफलाई हार्मोनियममाथि राखेर रामेश दाइले धुन निकाल्नु भयो । भोलिपल्टै अन्तरा पनि तयार भए र केहीदिनमै गीतले पूर्णरुप लियो ।

त्यसको झण्डै सात आठ वर्ष म गुप्तबास बसेँ । कुनै सामुहिक र सामाजिक भेलातिर उपस्थित भइन । साथीहरूसित मिलेर स्टुडियो खोल्ने कुरा भयो ! डिल्लिबजारमा आफू बसेकै घरमा स्टुडियो तयार गरेँ । स्टुडियोमा बाहिरीकाम खास भएन । एकदिन रामेश दाइबाट प्रस्ताव आयो- स्वर्णिम स्कुलको बालगीतको रेकर्ड गर्ने । त्यहीक्रममा 'चरीको चिरिबिरी' एलबम त्यही स्टुडियोमा रेकर्ड भयो । मेरै संगीत संयोजन र प्राविधिक क्षमतामा । 'नाद स्टुडियो'मा रेकर्ड भएको त्यही एलबममा पर्‍यो सृजना भएको झण्डै एकदशकपछि 'लेकका हामी केटाकेटी' । गीत निकै लोकप्रिय भयो । तर नजिककै साथीहरूले पनि धेरैपछि थाहा पाए गीतको गीतकार को हो ? भनेर । कति स्कुलहरूले अतिरिक्त पाठ्यपुस्तकमै गीत राखेर किताब बेचेका छन् तर गीतकारलाई जानकारीको कुरै छोडौं; गीतकारको नामसमेत उल्लेख छैन । झण्डै पाँचसात वर्ष पहिले आफैँले आफ्नो युट्युब च्यानल खोलेर यो गीतलाई सामान्य सुन्न मिल्नेगरि राखेँ । त्यहाँ यो गीतले लाखौं क्लिक पाएको छ । यति हुँदाहुँदै पनि केही व्यावसायिक च्यानलले यही गीतको नामबाट बिनास्वीकृत भिडियो बनाएर युट्युबमै राखेका छन् । एकदिन एउटा च्यनललाई प्रतिक्रिया जनाएँ- 'यो त तिम्रो साइबर अपराध हो नि !?' उसले यो गीतलाई लोकगीत भन्ठानेर प्रयोग गरेको जिकिर गर्‍यो । प्रमाण दिएपछि कन्टेन्टमा गीतकार संगीतकारको नाम समावेस गर्‍यो । रोयल्टीको त दाबी नै गरेको छैन । बरू आफूले कुँदेको गीत कसैको मस्तिष्कमा लोकगीतको कोटीमा परेकोले खुसी पो छु । सृजना भएको झण्डै साढे तीन दशकपछि पनि यो गीत धेरैको रोजाइमा परिरहेकै छ । कामना गर्छु- फेरि पनि यस्ता सृजना बुन्ने सकारात्मक शक्ति प्राप्त भइरहोस् !

    2610
    2