Aavaas

Jan 12, 20184 min

अदृश्य कविता वाचन

विगत केही वर्ष यता एकल कविता वाचनको लहर चलेको छ । कुनै बेला कविता सुनाउनुलाई खिसिट्युरीमा उडाउने समाजमा यस्तो लहर चल्नु धेरै अद्भूत खुसीको विषय हो ।

विगत केही वर्ष यता एकल कविता वाचनको लहर चलेको छ । कुनै बेला कविता सुनाउनुलाई खिसिट्युरीमा उडाउने समाजमा यस्तो लहर चल्नु धेरै अद्भूत खुसीको विषय हो । तर हाम्रो कथित बौद्धिक समाजले साच्चै कवितालाई आत्मसात् गरेको हो वा यो अहिलेको समयको चलनचल्तिको फेसन हो ? यसको जवाफ पाउन भने आगतलाई कुर्नु पर्छ ।

कुनै बेला म नियमित कविता लेख्थेँ । मेरो दैनिकी जस्तै थियो; एक बेला कविता लेख्नु । पछि संगीततिर ध्यान केन्द्रित भयो र कविता बिस्तारै छायाँमा पर्‍यो । कुनै बेला साथी सर्कलमा 'कवि' सम्बोधनले बोलाइने मको पहिचान 'संगीतकार' 'गायक'मा फेरियो । तर अझै पनि मेरो मानसिक काव्य-साधना क्रियाशील नै छ । चित्त नबुझुञ्जेल अक्षरमार्फत् अभिव्यक्त भने गर्दिनँ । अनुभूतिको संसारमा फर्कने यत्नबाट टाढा छैन म । तर अनुभूतिको तरङ्ग फैलन युवा अवस्थामा जत्तिको सहजता प्रौढ अवस्थामा नहुने रहेछ कि कसो ? त्यस्तो अनुभूत हुन्छ हिजआज । त्यसैले विगततिर फर्केर त्यो अनुभूति जन्य समयको पोखरीमा हातले सुम्सुम्याउन मन लाग्छ । त्यही सुम्सुम्याइकै परिणाम हो- यो कविता वाचनको सन्दर्भ ।

यी पाँच कविता मेरा नयाँ सृजना होइनन् । उहिलेकै हुन् । वाचन पनि हालको होइन । उहिलेकै हो । भनि हालेँ नि त्यसबेला कविता वाचन गर्नु खिसिट्युरीकै विषय थियो । तर पनि मेरो एउटा निकटको भाइ थियो । उसले कवितालाई छयांकन गर्छु भन्यो र मैले आफ्नै सांगितिक धुनहरू सहित पाँचवटा कविता रेकर्ड गरेँ । रेकर्डिङको प्रविधि आफैँसित थियो । त्यसका निम्ति कोठामै रहेको कम्प्युटरमा रहेको सफ्टवेयर प्रयोग भयो । कविता छायंकन भने भएन । पछि लाग्यो त्यसको अडियो युट्युबमा राखि दिऊँ । राखिदिँए । धेरै कमले सुनेका होलान् । अवलोकन मापन अंकमा तीन अंक पनि नाघेको छैन । तर आज जर्मनीबाट एकजना फ्यानको इमेल आयो- 'आभास ! तिम्रो गुगल संजालमा मैले 'मेरो गाउँ' लगायत कविताहरू सुनेँ । यी कविता र तिनको वाचनमा सुनिने आवाज तिम्रै हो ? हो भने मलाई तिनको 'टेक्स' पनि पढ्न प्रयत्न गर्ने मौका देऊ न !' नेपालीभाषा मुस्किलले बुझ्ने ती जर्मन महिलाको अनुरोधले मलाई झल्यास्स बनायो । मैले कुनै दिन उपन्यासकार नबन्दैका कवि बुद्धिसागरसितको भलाकुसारीमा बोलेको भाव सम्झेँ । बुद्धिले सोधेका थिए- 'दाइ ! कविता लेखेर हुन्छ के ?' सायद मैले भनेथेँ- 'कविताले देशको मानसिक घेरालाई ठू्लो बनाउँछ !' या त्यस्तै के ? जर्मन मित्रको ईमेल-अनुरोधले त्यतिबेला आफूले बोलेको कुरा ठिकै रहेछ कि भन्ने सोचमा छु । भलै यो मेरो एकल मनोभाव नै किन नहोस् ! त्यही भनोभावले प्रेरित भएरै हो; ती पाँच कविताको अडियो र 'टेक्स'' यता पनि टाँग्न मन लाग्यो-

मेरो गाउँ

बिहान

नारीका चुरा बज्न थाल्छन्

थुरमाथि बसेर

धोवीचरो

गीत गाउन थाल्छ

मेरो गाउँ

बिस्तारै ब्यूँझन्छ

पँधेरा जान्छ

र पानी ल्याउँछ

रातोमाटो घोलेर पोतेरी ठीक पार्छ

र संघार लिप्न

मेरो गाउँ

हरेक बिहान

घामलाई निम्त्याउने गर्छ

दिउँसो

आमा

रछ्यान छेउका भाँडा मस्काउँछिन्

र भाँडासँगै

आफूलाई पनि खियाउँछिन्

बुद्ध

स्कुल जान्छ

र स्तुति पढ्छ

अर्जुन

धनुकाण हैन

कलम भिर्छ

र जागिरमा जान्छ

धुर्बे

कोदालीले चपरी उप्क्याउँछ

र आफैंलाई थिच्न थाल्छ

अम्बिका

घाँस काट्न जान्छे

र औंलो पनि काट्छे

आकाशको घाम

जोवनले धपक्क बल्छ

मेरो गाउँ भने

घर्ती बूढाले पिँढी कुरे झैं

पिँढी कुर्छ

र आफ्नै अतीतमा डुब्छ

साँझ

जसरी

कुनै तरुनी छोरी

बेहुली बनेर माइतीसित बिदा हुन्छे

त्यसैगरी

दिनभरिका असंख्य डामहरु छोडेर

घाम

यहाँबाट बिदा हुन्छ

गाईको बाच्छो

थुनमा झुण्डिए जस्तै

बुबुमा झुण्डिएको बालक च्याप्दै

आमा

चुलामा आगो जोर्छिन्

र खुईऽऽय सुस्केरा काढ्छिन्

धुवाँ

धुरीबाट बाहिर निस्कन्छ

र सायद

अँध्यारोसित साउती मार्छ

अँध्यारो

झ्यालबाट चोर पसे झैं

खुसुक्क भित्र पस्छ

र गाउँको घाँटी मचक्क कस्छ

यसरी

अँध्यारोले छापा मारेको मेरो गाउँ

टुकी छेउ पढ्न बसेको बालकले झैं

टुकी निभाउनै बिर्सन्छ

र भुसुक्क निदाउँछ ।

धनेः एउटा कविता

धने

बञ्जर भूमि खन्छ

जोत्छ र उमार्छ बीउहरु

बीउसँगै उम्रन्छ धने

फक्रन नपाउँदै

उसको खेतमा

उसको जिन्दगी उम्रने खेतमा

साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी

फेरि

बेला नहुँदै ओइलाउँछ

मात्र ओइलाउँछ धने

पैह्रो जान्छ उसको हृदयमा

जिन्दगीका पाटा पाटामा पैह्रो जान्छ

ओठमा

आँखामा

सपनामा

चारैतिर पैह्रो जान्छ

उसका स–साना

नानीका नानामा पैह्रो जान्छ

हरेक बिहान र हरेक साँझको

खानामा पैह्रो जान्छ

पटक पटक बन्ने प्रयत्नमै

भत्कन्छ धने

मात्र भताभुङ्ग हुन्छ

कान्लो लड्छ र ऊ पनि लड्छ

असिना वर्सन्छ र ऊ पनि चुटिन्छ

तै पनि

पूर्वको लालीसँगै

उठ्छ धने

कुटाले भुईँ खोप्छ

र आफैंलाई माटोमा, रोप्छ धने ।

बाँसुरी वादिका

म मेरो बाँसुरी फुकेर

देह शान्त पारिरहिछु

मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर

मलाई मन पर्ने मेरो गीत

मेरो ओठसम्म चुम्न आइरहेछ

म मेरो बाँसुरी फुकेर

दुःख र पीर पोखिरहिछु

मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर

मेरो खुसी

मेरो ओठसम्म चुम्न आइरहेछ

म मेरो बाँसुरी फुकेर

पर्खाल लगलग कँपाइरहिछु

मेरो बाँसुरीको स्वरसँगै पीङ् खेलेर

एउटा नवजवान योद्धा

मतिर आइरहेछ

ऊ मेरो ओठ चुम्नभन्दा

पर्खाल चिरा चिरा पार्न चाहिरहेछ

यसमा म छक्क परेकी छैनँ

म जे खोज्दै छु

ऊ त्यही गरिरहेछ

पूरा आकाश प्रतिध्वनित हुने गरी

म मेरो बाँसुरी फुकेर

देह शान्त पारिरहिछु ।

सोनु ! मैनबत्ती निभ्ला है !

आकाशले

भरखर घुम्टो खोलेको छ

क्षितिजबाट

भरखर बास्ना ओर्लेको छ

म गोधूलिको यात्रामा निस्कँदै छु

सोनु !

कोठाको मैनबत्ती निभ्ला है !

मैले

मैन नजिकै

सपनाको फाइल राखेको छु

फाइलभरि

असङ्ख्य सपना सँगालेको छु

सपना देख्नु

कमजोरी हो भने

मैले

धेरै कमजोरी साँचेको छु

ती सबैलाई पढ्न

आखिर उज्यालो नै चाहिन्छ

अहिले

झ्यालको चुकुल खुलै छ

म गोधूलिको यात्रामा निस्कँदै छु

सोनु

कोठाको मैनबत्ती निभ्ला है !

मन

अँध्यारो गुफा हो

यसभित्र

करूणा र घृणा सँगसँगै अट्न सक्छन्

यदि

मनबाट

करूणा हराई भने

मान्छे पशु हुनेछ

हेक्का राख

मनको कुनाबाट

करूणा हराउली

मनबाट

घृणा हरायो भने

असल र खराबमा भेद रहने छैन

सम्झना राख

मनको कुनाबाट

घृणा हराउला

हेर त !

अहिले कोठामा मैन छ

र त उज्यालो छ

नजिकै

मैनको फेदमै

अँध्यारो पनि सँगै छ

सोनु !

यही मैनको जलन, जीवन हो

अँध्यारो

उज्यालो

यो सबै यात्रा हो

सोनु !

तिमीलाई थाहा छ

यात्रामा निस्कनेको कुनै टुङ्गो हुँदैन

यात्रा

अनन्त युद्ध हो

म अहिले

युद्धमा निस्कँदै छु

गोधूलिको यात्रामा निस्कँदै छु

सोनु !

कोठाको मैनबत्ती निभ्ला है !

सुरेन बाबु

सुरेन बाबु

यो सामान्य कुरो हो

रगत रातो हुन्छ

सुरेन बाबु

तिमीले आनन्द लिन

राइफल बोक्ने गरेका छौ

साँझको गोधूलिमा

तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ

तिमीलाई थाहै छ

ढुकुरको रगत रातो हुन्छ

सुरेन बाबु

यो सामान्य कुरो हो

रगत रातो हुन्छ

सुरेन बाबु

तिमीले आनन्द लिन

राइफल चलाएका छौ

र अब सरकार पनि चलाएका छौ

सुरेन बाबु

बेला बखत तिमीले

भोका आशालालहरूको भीडमा

आधुनिक मट्याङ्ग्रा चलाएका छौ

तिमीलाई राम्ररी दिव्यज्ञान प्राप्त भएको छ

तिम्रो मट्याङ्ग्राले

छाती छेड्दा निस्केको

भीडको रगत पनि रातो हुन्छ

सुरेन बाबु

अब रगतमा रङ्ग परीक्षण जरुरी छैन

प्राणीको धमनी र शिरामा बग्ने तरल रातै हुन्छ

सुरेन बाबु

यो पनि त निर्विवाद छ

भीडबाट उफ्रिएको कुनै मट्याङ्ग्रो

तिम्रो छातीमा बज्रियो भने

तिम्रो छातीको भुलभुले पानी पनि रातै हुन्छ ।

    410
    0